कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने

तु खबर संवाददाता
२०७९ भाद्र ४, शनिबार १७:२०

काठमाडौं । नेपाली कांग्रेसले आसन्न आम निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएको छ । आगामी भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरणको अभियान संचालन गरिने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार, यस अभियानमा देशभरका ७७ वटै जिल्लामा पार्टीका प्रतिनिधिहरू खटिनेछ । यसबारे प्रतिनिधिहरूलाई आइतबार एउटा अभिमुखी कार्यक्रमसमेत राखिएको उनको भनाई छ । उनले यो अभियानमा विशेष गरेर जनताको बिचमा जाने र जनताको कुरा सुन्ने र आत्मसात गर्ने काम हुने जानकारी दिए ।

केन्द्रीय प्रतिनिधिहरू तोकिएको ठाउँमा ५ दिनसम्म कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए । महतले दोस्रो चरणमा समानुपातिकको उम्मेदवारी दर्तापछि जनताको बिचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्ष तर्फका उम्मेद्वार तय भएपछि अभियान संचालन गरिने पनि बताए ।