सिट बाँडफाँट गर्न गठबन्धनका शीर्ष नेताबीच छलफल जारी

तु खबर संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १८:२२

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बोलाएको बैठक केहीबेर अघि सुरु भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार, बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत रहेका छन् । सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न नसकेपछि शीर्ष नेताबीच छलफल चलेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले सय सिट दाबी गर्दै आएको छ भने माओवादी लगायतका अन्य दलले उसको प्रस्ताव स्वीकार गर्न सकेका छैनन् । कांग्रेसको यही अडानका कारण कार्यदल स्तरमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ ।