नेकपा समाजवादीले तोक्यो उम्मेदवार बन्न मापदण्ड
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न सात मापदण्ड तोकेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सात वटा मापदण्डभित्र पर्ने मात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको हो ।
पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार, बैठकले समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सात वटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन निर्देशन दिएको छ । आगामी भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका (नाम) सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ ।
यस्ता छन् मापदण्ड :
१.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२.पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३.पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४.आर्थिक र नैतिक आचरण राम्रो भएको,
५.जनतामा स्थापित र लोकप्रीय रहेको,
६.स्वच्छ छवि र सुशासनको पक्षपाती,
७.कार्यक्षमता र सक्रियता राम्रो भएको
