सामाजिक विकृति अन्त्य गर्न सूचना प्रणालीले महत्वपूर्ण भूमिका खेल्छ : मन्त्री मोक्तान
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगती अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । मंगलबार हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै मन्त्री मोक्तानले बैदेशिक रोजगारका नाममा भरहेको बेचबिखन जस्ता आपराधिक कार्य रोकथाममा पनि सूचना प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताएकी हुन् ।
‘मानव वेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या भईरहेको छ,’ उनले भनिन्, ‘सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्छ ।’ असहाय बालबालिकाको एकीन तथ्यांक नहुँदा धेरै समस्या भएको भन्दै उनले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको जिकिर गरिन् ।
कार्यक्रममा बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणाली सम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सुचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा, सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपाल प्रसाद कँडेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, वीनरक ईन्टरनेशनल ‘हाम्रो सम्मान परियोजना’का रत्नकाजी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, नुवाकोटको शिवपुरी गाउँपालिकाका उपाध्यक्ष बिरबहादुर तामाङ, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, बागमती प्रदेश नीति तथा योजना आयोगका प्रमुख सुकदेव देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको हो ।
