चुनावी तालमेल गर्ने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न राजनितिक तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकले दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि राप्रपाले निर्णय गरेको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा लगायतको उपस्थितिमा बसेको बैठकले निर्वाचन भयरहित र धाँधलीरहित ढंगबाट सम्पन्न हुने वातावरण बनाउन पनि सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
