आसन्न निर्वाचनमा ८ करोड मतपत्र छाप्ने तयारी

तु खबर संवाददाता
२०७९ श्रावण ३०, सोमबार १०:२६

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चार वटा मतपत्रमा मतदान गर्ने गरी कुल ८ करोड मतपत्र छाप्ने तयारी गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले चार वटा मतपत्रमा मतदान गर्ने गरी आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको जानकारी दिए । एउटा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्र र अर्कोमा सोहीबमोजिम दुई वटा गरी चार वटा मतपत्र रहने उनको भनाई छ ।