प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा ४० दल दर्ता
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ४० राजनीतिक दल दर्ता भएका छन् । दल दताए गर्न ३ दिनमा मात्र बाँकी हुँदा ४० वटा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
उनका अनुसार, आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने कांग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।
