आज बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, आज दिउँसो देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका देशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
