सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ श्रावण २३, सोमबार ०९:२७
file-photo

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँढफाँड गर्न आज सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दैछ । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिन पाँच दलीय सत्ता गठबन्धनद्वारा गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यका एक सदस्यले बताए । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् ।