४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहानमा पुनः लकडाउन
काठमाडौं । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा लकडाउनको घोषणा गरिएको छ । वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै ३ दिन लकडाउन घोषणा गरिएको हो ।
पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ । यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ । यसबाट चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा उल्लेखनीय रूपमा कमी भएको छ ।
१२ लाख जनसंख्या रहेको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण भइरहेको छ । दुई दिनअघि दुई जनामा संक्रमण पुष्टि भएको वुहानमा त्यसपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जाँदा थप दुई जनामा संक्रमण देखिएको हो ।
