आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना
२०७९ श्रावण ५, बिहीबार ०९:४४
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहनुका साथै देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
