बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने
काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाईनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाईटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाईनबाटै आवेदन पेश गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
सो पश्चात् अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्नेछ ।
