‘लिखित सहमति हुँदा पनि मलाई मुख्यमन्त्री बन्नबाट किन रोकियो ?’

तु खबर संवाददाता
२०७९ असार २७, सोमबार १९:११

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफूलाई मुख्यमन्त्री बन्नबाट रोकेको भन्दै गुनासो गरेका छन् ।

सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो प्रदेशबाट स्थानीय तह निर्वाचनको प्रतिवेदन पेस गर्दै उनले गठबन्धनभित्र ६/६ महिनामा मुख्यमन्त्री फेरिने गरी लिखित सहमति भएको भएपनि त्यो कार्यान्वयन नभएको बताए ।

बागमती प्रदेश नेपाली कांग्रेस सभापतिसमेत रहेका बानियाँले गठबन्धनको विषयमा भएका अन्य सहमतिहरू कार्यान्वयन भएको भन्दै मुख्यमन्त्री फेरिने विषयमा भने त्यसले सार्थकता नपाएको बताए ।

उनले भने ‘केन्द्रबाटै गठबन्धनमा सहमति भएको हो । लिखित सहमति किन कार्यान्वयन भएन ? यो सहमति कार्यान्वयन हुनुपर्छ कि पर्दैन ?, सबै सहमति कार्यान्वयन हुने, यो किन नहुने ? भोलि त्यहाँ गठबन्धन कसरी गरेर अघि बढ्ने ?’