निर्वाचन आयोगले चुनावमा विद्युतीय मेसिन प्रयोग गर्नेबारे निर्णयका लागि फाइल पठायो
काठमाडौं । निर्वाचन आयोगले चुनावमा विद्युतीय मेसिन प्रयोगका सन्दर्भमा आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा फाइल पठाएको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउने उद्देश्यका साथ अध्ययनका लागि गठन भएको समितिले प्रतिवेदन बुझाएसँगै निर्वाचन आयोगले आवश्यक निर्णयका लागि फाइल (प्रतिवेदन) मन्त्रिपरिषदमा पठाएको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन सम्वन्धी कानूनमा भएको व्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था नभए श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन पनि आयोगले आग्रह गरेको छ ।
