बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाको आज बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको विनियोजित बजेटमाथि थप छलफल हुनुको साथै बजेटमाथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेछन् । त्यस्तै, सरकारको काम कारवाही र बजेटमाथि सांसदहरुले राखेको प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलेसमेत जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि मंगलबार बसेको प्रदेशसभामा २६ जना सांसदहरुले विनियोजित बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।
