आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ असार १५, बुधबार १०:२१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।