बागमती प्रदेशसभाः एमालेको अवरोधपछि बैठक स्थगित
मकवानपुर । नेकपा एमालेले अवरोध गरेपछि बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पुरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।
आगामी आवको लागि प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लाहरुलाई समान रुपमा सम्बोधन गर्न नसकिएको भन्दै बजेट संसोधनको मागसहित एमालेले बैठक अवरुद्ध गरेको हो ।
सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संसोधनको माग गरिरहेको छ ।
