एसिया डेभलपमेन्ट लिडरसीप अवार्ड २०२२ बाट भट्टराई सम्मानित
मकवानपुर । मलेसियास्थित रिसर्च अण्डर लिटरल एक्सेसले मकवानपुरका सुरेन्द्र भट्टराइलाई अन्तर्राष्ट्रिय अवार्डसहित सम्मान गरेको छ । विभिन्न ५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमध्ये भट्टराई एसिया डेभलपमेन्ट लिडरसीप अवार्ड २०२२ बाट सम्मानित भएका हुन् ।
भट्टराइलाई नेपालको सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । २० बर्ष सरकारी सेवामा कार्यरत रही अवकाश लिएका भट्टराईलाई तत्कालिन समयमा विभिन्न गाउँ विकास समितिहरुमा रहेर विकास व्यवस्थापन र योजना सम्बन्धी कार्य गरेको, स्थानिय निकायमा जनप्रतिनिधिहरु नभएको समयमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, विकासका गतिविधिहरु सञ्चालन गरेको भन्दै सम्मान गरिएको हो ।
भट्टराइले १२ बर्ष स्थानीय निकायमा र ५ बर्ष विश्व बैंकद्धारा सञ्चालित ग्रामिण विकास सम्वन्धी परियोजनामा काम गरेका थिए । उनले २ बर्ष बागमती प्रदेश योजना आयोगमासमेत अधिकृतको रुपमा काम गरेर सरकारी सेवाबाट स्वेच्छिक अवकाश लिएका हुन् ।
उनले बागमती प्रदेशमा रहँदा प्रदेशको पहिलो पञ्चवर्षीय योजना निर्माण र दीगो विकासको लक्ष्यहरुको स्थानियकरण गर्ने काममा महत्वपूर्ण जिम्मेवारी लिएका थिए भने बागमती प्रदेश पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको सदस्य सचिव भएर काम गरेका थिए ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले स्थानीय निकायमा मानव श्रोत विकास सम्बन्धी बिषयमा भारतको राष्ट्रि ग्रामिण विकास संस्थान र नेदरल्यान्डको वागेनियन युनिभर्सिटी एण्ड रिसर्चबाट दीगो विकासका असरको व्यवस्थापन सम्बन्धी बिषयमासमेत अध्ययन गरेका छन् ।
