अन्तरराष्ट्रिय साक्षरता दिवसमा ४९ शिक्षकलाई सम्मान

तु खबर संवाददाता
२०७८ भाद्र २४,बिहीबार १७:३८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अन्तरराष्ट्रिय साक्षरता दिवसका अवसरमा ४९ जना शिक्षकलाई सम्मान गरेको छ ।

यसैगरी बालप्रतिभा पहिचान कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कोरोनाको महामारीको समयमा पनि बैकल्पिक माध्यमले अध्यापन गराउँदै आएका ४० जना शिक्षक तथा दीर्घ सेवाबाट ९ जना शिक्षकलाई सम्मान गरेका थिए ।

हेटौंडाका निजी तथा सामुदायिक विद्यालयका शिक्षकलाई सम्मान गरिएको हो । कार्यक्रममा उपमहानगरपालिकाका मेयर महतले शिक्षा क्षेत्रमा अगाडि बढाउनका लागि स्थानीय सरकारले कुनैपनि सहयोग गर्ने बताए ।

कार्यक्रममा उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, डीएलपीआइयु शिक्षा मकवानपुरका प्रमुख बद्री बहादुर पाठक, अधिकृत रामचन्द्र खड्का, नायव सुब्बा राजमणि शर्मा अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।