अनेरास्ववियुको टोली हेटौंडा अस्पतालमा, थप राम्रो बनाउन सहकार्य गरौँ : मेसु डा. सापकोटा
मकवानपुर । नेकपा एमाले समर्थिक अनेरास्ववियु मकवानपुरले आज हेटौंडा अस्पतालको अवस्था र मकवानपुरका नागरिकले पु¥याउन सक्ने योगदानका बारेमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई भेटेर छलफल गरेको छ । छलफलमा उपस्थित अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य सन्तोष पौडेल, केन्द्रीय सचिवालय सदस्य किसन घिसिङ, जिल्ला उपाध्यक्ष अमृत बर्तौला, भुवन मैनाली, जिल्ला सहसचिव प्रमोद फुयाँललगायतका विद्यार्थीको टोलीले हेटौंडा अस्पतालका सन्दर्भमा अहिले सार्वजनिक भइरहेका विषयहरुको वास्ताविकता र भ्रमबारे मेसु डा. सापकोटासँग कुराकानी गरेका छन् ।
छलफलमा सहभागी विद्यार्थी नेता पौडेलले हेटौंडा अस्पतालका बारेमा आफूहरु जिम्मेवारपूर्वक छलफल गर्न आएको बताए । हामी मकवानपुरका नागरिकको स्वास्थ्यसँग जोडिएको विषयमा अहिले पछिल्लो समय सार्वजनिक विभिन्न धारणाहरु भ्रम वा यथार्थ के हो भनेर बुझ्न चाहिरहेका छौं, त्यस विषयमा स्पष्ट जवाफ चाहन्छौँ, पौडेलले भने । साथै अस्पताल पुगेका अनेरास्ववियुका अन्य नेताहरुले पनि अस्पतालले प्रवाह गरिरहेको सेवा, सेवाग्राहीले भोग्न परेका विविध समस्याबारे अस्पताल प्रशासनसँग जिज्ञासा राखेका थिए ।

हेटौंडा अस्पतालले प्रवाह गरिरहेका सबै सेवा, अस्पतालमा हाल रहेको भौतीक पूर्वाधार र जनशक्ति तथा सेवाग्राहीले भोग्न परेका तमाम समस्याका बारेमा विद्यार्थी नेताहरुले राखेका प्र्रश्नहरुको जवाफ दिँदै मेसु सापकोटाले हेटौंडा अस्पतालले आफ्ना सेवाहरुको व्यापक विस्तार गर्दै लगेको स्पष्ट पारेका छन् । अघिल्लो वर्षको यही अवधिमा र यस वर्षको यही अवधिमा सेवा लिन आएका सेवाग्राहीको संख्या, उनीहरुले प्राप्त गरिरहेका विशेषज्ञ सेवाका आधारमा अस्पतालले अहिले मौजुदा स्थितिमा दिँदै आएको सेवा प्रभावकारी रहेको डा. सापकोटाको भनाई छ । सेवाग्राहीको चाँप धेरै भएको र भौतीक संरचनाको अभाव रहेको अवस्थामा थोरै समस्याहरु देखिएका छन्, त्यसलाई समाधान गर्ने गरी आफ्नो टिम लागिपरेको र यो काममा मकवानपुरका सबैको सहयोग हुने विश्वास डा. सापकोटाले व्यक्त गरेका छन् । हेटौंडा अस्पताललाई साउनको अन्तिमबाट नयाँ भवनमा स्थानान्तरण गर्ने गरी आवश्यक कामहरु भइरहेको उनले बताए । नयाँ भवनमा सारेपछि अहिलेका थुप्रै समस्या समाधान हुने पनि उनको भनाई छ ।
अहिले दैनिक १४०/५० जनाको भिडियो एक्सरे भइरहेको छ, थाइराइड जाँच लगायतका सेवाहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको छ, विभिन्न किसिमका अप्रेसन भइरहेका छन्, तपाइले यहाँबाट प्रदान गरिरहेको सेवा हेर्नु भयो भने ५० बेडको अस्पतालले यो स्तरको सेवा दिएको पाउनुहुन्न, डा. सापकोटाले भने । स्वास्थ्य विमा बोर्डबाट ५ करोडभन्दाबढी भुक्तानी लिन बाँकी रहेको अवस्थामा समेत हामीले सामान्य नागरिकले प्रभावकारी उपचार पाउन् भनेर काम गरिरहेका छौँ, उनले भने । हेटौंडा अस्पताललाई राम्रो बनाउन, भएका कमीकमजोरीलाई सच्याउन तपाईं युवा, विद्यार्थी र सबै मकवानपुरवासीको सकारात्मक र रचनात्मक सहयोगको अस्पताल प्रशासनले आसा राखेको छ, डा. सापकोटाले भने ।
त्यस अवसरमा विद्यार्थी नेता सन्तोष पौडेलले हेटौंडा अस्पतालको सेवालाई प्रभावकारी बनाउन सबै किसिमले सहयोग गर्न प्रतिवद्ध रहेको बताए । नेता किसन घिसिङले पनि अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सहयोग हुने र अस्पताल प्रशासनले पनि आफ्ना कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताए । छलफलमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाई, हीरा लामालगायतकाको उपस्थिति रहेको थियो ।
