एन्फाको दुई सदस्यको लागि पुनः निर्वाचन हुने

तु खबर संवाददाता
२०७९ असार ७, मंगलवार १०:३७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दुई सदस्यको लागि पुनः निर्वाचन हुने भएको छ । एन्फाको २१ औं साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुंगो लगाएको छ ।

साधारणसभाबाट १३ सदस्यमध्ये ११ जनामात्र निर्वाचित हुँदा थप दुई जनाका लागि भने पुनः निर्वाचन हुने भएको हो । खुल्ला चार जना उमेदवारको समान ३९–३९ मत आएपछि गोलाप्रथा गरिने भनिए पनि विशेष साधारणसभाबाट चार जनाबीच निर्वाचन गराई दुई सदस्य चुनिने एन्फाले जनाएको छ ।

दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएपछि दुई सदस्यका लागि पुनः निर्वाचन हुने भएको हो । एन्फाको विधान, फिफा र एएफसीको नियमहरू सबै विचार गरेर फिफा र एएफसीकै प्रतिनिधिको सुझावमा एन्फाले निर्वाचनको मिति तोक्ने भएको हो ।