सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक करणी, दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार ४, शनिबार १५:३७
सांकेतिक तस्बिर

दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक जबरजस्ती करणी भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि जबरजस्ती करणी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरी उपरीक्षकका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी कार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।