पोर्चुगल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । पोर्चुगल पठाई दिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् । काठमाडौंको बालुवाटार घर भई हाल टोखा बस्ने ३५ वर्षीय श्रेष्ठलाई प्रहरी टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो ।
श्रेष्ठमाथि पोर्चुगल पठाएर काम लगाइदिन्छु भन्दै ८ जनाबाट साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ । तनहुँको बन्दिपुर गाउँपालिका घर भई हाल काठमाडौं म्हेपी बस्ने सुकमाया गुरुङले श्रेष्ठविरुद्ध ठगीको उजुरी दिएकी दिइन् । श्रेष्ठले आफू नेपाल अनाथ आश्रम असहाय समाज नामक संस्थाको केन्द्रीय अध्यक्ष रहेको र पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले ‘तपाईं लगायत तपाईको आफन्तहरू जाने भए म पोर्चुगल पठाइदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु,’ भन्दै प्रलोभनमा पारेर ठगी गरेको गुरुङको उजुरीमा उल्लेख छ ।
श्रेष्ठले भिसा प्रोसेसिङ र हवाई टिकटको लागि गुरुङसमेत ८ जनाबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिएका थिए । गुरुङको जाहेरीपछि प्रहरी अनुसन्धानबाट जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिसाहरू नक्कली भएको पत्ता लागेको थियो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका साथै कानूनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
