ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० गते हुने

तु खबर संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार १०:१२

काठमाडौं । नेपाली कांग्रेस निकट श्रमिकको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन यही जेठ २९ र ३० गते हुने भएको छ । ट्रेड युनियन कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय लिएको हो ।

बैठकले जेठ २९ र ३० गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट एक हजार ६०० प्रतिनिधि सहभागी हुने ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवम् सम्मेलन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले जानकारी दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन अर्थात् जेठ २९ गते उद्घाटनसत्रमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, गृहमन्त्री बालकृष्ण खाणलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको पहिलो दिन नै योगदानमा आधारित सामाजिक सुरक्षाबारे विषयगत सम्मेलन र श्रमिकको कार्यलयस्थलमा हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी आइएलओ महासन्धि, १९० बारे विषयगत सम्मेलन हुने कार्यक्रम रहेको छ । यस्तै, सम्मेलनको दोस्रो दिन बन्दसत्रको कार्यक्रम रहेको छ ।