ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर
काठमाडौं । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर विजयी भएका छन् । पार्टीको संस्थापन पक्षका उम्मेदवार कुवँरले इतर पक्षका महेन्द्र यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
कुवँरले ४४१ मत पाउँदा यादवले ३७६ मत मात्र प्राप्त गरे । बाँकी १६ पदाधिकारीमा यादव प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।
महासचिवमा अजयकुमार राई, खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् ।
त्यस्तै, सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रको उपमहासचिवमा कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणि थापा अर्चना निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सहकोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन् । ट्रेड युनियन कांग्रेसको केन्द्रीय समिति ४९ सदस्यीय हुने व्यवस्था छ । सदस्यतर्फको मत गणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
