जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु, २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १०:०६
सांकेतिक तस्बिर

बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्वर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवादकै क्रममा नै चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उनको उपचारकै क्रममा राति साढे ९ बजे मृत्यु भएको हो ।

प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई नियन्त्रणमा लिएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ ।