३५ लाख लुटमा संलग्न प्रहरी हवल्दारसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १६:०४
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टबाट ३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंलका अनुसार, उनीहरु बैशाख १८ मा पक्राउ परेका हुन् । पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनी प्रहरी वृत मालिगाउँमा कार्यरत छन् । आरोपीहरुमाथि डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

लैनचौरको ब्याडमिन्टन कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर उनीहरुको समूहले ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।