साना तथा मझौला उद्योगको विकास गर्न सके मात्रै देशको अर्थतन्त्रमा सुधार आउछ : गोल्छा

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १७:५३

मकवानपुर । नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्रमा उल्लेख्य रुपमा सुधार आउने बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेशसभामा बोल्दै अध्यक्ष गोल्छाले सो कुरा बताएका हुन् ।

उनले वर्तमान अवस्थामा भइरहेको तरलता अभावको अन्त्यका लागि वृहत अध्ययन गर्नुपर्ने बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा उद्योगी व्यवसायीहरुको धेरै समस्याहरुलाई समाधान गर्न प्रयास गरेको बताए ।

निर्यातलाई बढाउन उद्योगीहरुलाई थप सुविधा दिने प्रकृतिको बजेट आएकाले यसले अर्थतन्त्रमा केही सुधार पनि हुने अवस्था देखिएको उनको भनाई छ । उद्योग क्षेत्र सरकारलाई कर तिर्न तयार रहेको भन्दै अध्यक्ष गोल्छाले नीजि क्षेत्रसंगको सल्लाह र सहकार्य गर्न सरकारसंग आग्रह गरे । अध्यक्ष गोल्छाले उद्योग क्षेत्रको थप समस्याहरु मौद्रिक नीतिले पनि समाधान गर्ने बताए ।

उद्योगी व्यवसायीकको हित र उद्योग क्षेत्रको विकासका लागि विना धितो लगानीका आधारमा कर्जा प्राप्तीको व्यवस्था, जग्गा प्राप्तीमा सहजता, तरलता अभावको अन्त्य गर्नुपर्ने उनको भनाई छ ।