हत्याको आरोपमा मकवानपुरका लामा पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ १८, बुधबार ०८:१९
सांकेतिक तस्बिर

मकवानपुर । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गत जेठ ५ गते दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बाग्मती नदी किनारमा कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा कान्छा लामा तामाङको हत्या भएको घटनामा संलग्न २ जनालाई प्रहरीले जेठ ६ गते नै पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिहरुको बयानको क्रममा दिपक लामा वाईबा पनि घटनामा संलग्न रहेको खुल्न आएपछि उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका साथै कानूनी कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।