विश्व सुर्तिजन्य पदार्थ रहित दिवसः हेटौंडामा सडक नाटक र अन्तरक्रिया

तु खबर संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १६:५२

मकवानपुर । विभिन्न कार्यक्रम गरी हेटौंडामा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । सो अवसरमा मंगलबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाको आयोजनामा प्रदेश राजधानी हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरिएको हो । निर्देशनालयले ‘सुर्तिजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नारालाई सार्थक बनाउन मंगलबार विहान प्रभातफेरी कायक्रम गरेको थियो भने दिउँसो सडक नाटक प्रदर्शन र पत्रकारहरुसंग अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

विहान भएको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रह गर्नुको साथै बालबालिकालाई खरिद गर्न पठाउने कार्य बन्द गर्न अनुरोध गरे ।

मन्त्री लामाले बालबालिकालाई प्रयोग गरिएको पाइएमा कारवाही गरिने र विक्री वितरणमा समेत बन्द गरिने बताए । सुरुमा आफुबाट प्रयोग नगर्ने प्रण गरौं र सबैलाई प्रयोग नगरौं भन्दै मन्त्री लामाले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र बजेट ल्याउने तयारीमा रहेकाले स्वास्थ्य र शिक्षामा बजेट राखेर यी यस्ता कार्यक्रमहरुलाई कार्यान्वयन गरी समाजलाई सुर्तिजन्य पदार्थ रहित बनाउने उनले बताए ।

हेटौंडाको बुद्ध चोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी पुनः बुद्धचोक पुगेर समापन भएको थियो । प्रभातफेरी कार्यक्रम समापन भएलगत्तै बुद्ध चोकमा सुर्तिजन्य पदार्थको प्रयोग विरुद्धको चेतनामूलक सडक नाटक प्रदर्शन गरिएको थियो ।

त्यसैगरी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका अध्यक्ष स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठले नेपालमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनमा आम नागरिक जागरुक हुन आवश्यक रहेको बताए । उनले सुर्तिजन्य प्रयोगकर्ताहरु नै सजग भए मात्र त्यसको नियन्त्रण सम्भव रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर शम्भु काफ्लेले सुर्तिजन्य पदार्थको प्रयोगको स्थिती, असर र रोकथामका बारेमा प्रस्तुति दिएका थिए । उनले हरेक वर्ष नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट २७ हजारको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गर्दै धुम्रपान र सुर्तिजन्य पदार्थको सेवनबाट टाढै रहन सबैलाई आग्रह गरे । नेपालमा धूम्रपान गर्नेको संख्या २८.९% (सन २०१९) रहेकोले यसको कारणले २८% मुटुको रोग निम्त्याउने डाक्टर काफ्लेले जानकारी गराए ।

विश्वमा प्रत्येक बर्ष ८० लाख मानिसको यसकै सेवनले मृत्यु हुने गरेको र २ लाख हेक्टर जमिन सुतिजन्य पदार्थ उत्पादनमा प्रयोग हुने गरेकोसमेत उल्लेख गरे । सुर्तिजन्य पदार्थबाट लाग्ने रोगको उपचार गर्न १४ हजार खर्ब खर्च भइसकेको काफ्लेले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी शिव बडालले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ का बारेमा जानकारी गराएका थिए । नेपालमा सुर्तिजन्य पदार्थ सम्बन्धि ऐनको कार्यान्वयन पक्ष फितलो रहेको उनले बताए ।

नेपालमा सुर्तिजन्य पदार्थ सम्बन्धी ऐनको कार्यान्वयन मिडियाले मात्र गर्न सकेको र अन्य निकायहरुले त्यसलाई व्यवहारमा लागू गर्न नसकेको उनले उल्लेख गरे । हरेक जिल्लामा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमिटी रहने भएपनि त्यसले काम गर्न नसकेको प्रस्तुतीकरणमा भनिएको छ ।