बागमती प्रदेश सरकारद्वारा हेमोफिलियाका विरामीहरुका लागि औषधि हस्तान्तरण
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराएको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा स्वास्थ्यमन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलिक फ्याक्टर आज हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री लामाले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधी होमोफिलियाका विरामीका लागि सहजै रुपमा उपलव्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरे । उनले प्रदेश सरकार यस्तै खाले अन्य रोगका विरामीहरुको लागि औषधि र उपचारको व्यवस्था गर्न प्रतिवद्ध रहेको बताए । उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधि एवम् उपकरण र औषधि खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रक्रिया अघि बढेको बताए ।
आपूर्ति केन्द्रबाट सोसाइटीलाई ११ सय ३० भाइल औषधि उपलव्ध गराएको आपूर्ति केन्द्रका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए । हस्तान्तरण गरेको औषधीको मूल्य करिब एक करोड रुपैंया रहेको जनाइएको छ । देशभर हेमोफिलियाका ७ सय ८० र बागमती प्रदेशमा २० महिलासहित २ सय ५० जना विरामी रहेको जनाइएको छ । औषधि अभावमा गत वर्ष ४ जनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य आपूर्ति केन्द्रका वरिष्ठ जनस्वास्थ्य निर्देशक शम्भु काफ्ले, सोसाइटीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
