बागमतीमा ४५७ विद्यालय नर्सका लागि आवेदन माग

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार ०९:१६

मकवानपुर । बागमती प्रदेशमा ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि आवेदन माग गरिएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौंडाले बुधबार एक सूचना जारी गर्दै करारमा विद्यालय नर्स नियुक्तिका लागि आवेदन माग गरेको हो ।

स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार, “एक विद्यालय, एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भएको हो ।

इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र अर्थात आगमी चैत्र १४ गते कार्यालय समयभित्र एक स्थानीय तहमा मात्र आवेदन दिन सक्ने निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्देशनालयको वेबसाइट https://hd.bagamati.gov.np/ne/ मा रहेको दर्खास्त फारम भरी निर्देशनालयसहित प्रदेशका १३ जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा बुझाउनु पर्ने  जारी सूचनामा भनिएको छ ।