भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १८:३९
file-photo

सप्तरी । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले सप्तरीबाट एक जनालाई पक्राउ गरेको छ । गत वर्ष २०७८ माघ २१ गते भाउजूको हत्या गरी फरार रहेका देवर सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनले दाजु रविन शाहकी २७ वर्षीया श्रीमती राजकुमारी शाहलाई घरमा खाना पकाइरहेको अवस्थामा जीउभरि पेट्रोल छर्की आगो लगाएरका थिए ।

देवरले लगाएको आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा मृत्यु भएको थियो । भाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका उनलाई सोमबार पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाइएको छ ।