हेटौंडा आएर गगन थापाले भने– ‘निरंकुश एमालेले सजाय पाइसक्यो, बिच्किएका जनतालाई सम्हालेर अघि बढौँ’
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले ५ बर्षसम्म नेकपा एमाले नेतृत्वको सरकारले निरंकुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको आरोप लगाएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न कांग्रेसले हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरितका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रतिनै बिच्किएको बताए ।
‘पछिल्लो समय तीनै तहको सरकारमा एमालेको नेतृत्व हावी थियो । केन्द्र, प्रदेश र स्थानीय तहको सरकारमा एमालेले नेतृत्व गर्यो । लामो समयपछि भएको स्थानीय निर्वाचन, र स्थिर सरकार गठन भयो भनेर जनता आशावादी भएका थिए । तर, तत्कालिन सरकार जनताप्रति जिम्मेवार नहुँदा जनताको आशा, निराशा र आक्रोशमा बदलियो । केप ओलीले २ पटकसम्म संसद विघटन गर्नुभयो । संविधानमाथि नै प्रहार गर्नुभयो । नागरिकका अधिकार खुम्च्याउने प्रयास भयो । जसका कारण जनताको राजनीतिक दलप्रतिको धारणा नै गलत बन्दै गएको छ ।’ उनले भने ।
उनले एमालेको निरंकुशताको सजाय जनताले स्थानीय निर्वाचनमा उनीहरुलाई दिइसकेकोसमेत बताए । ‘ केही स्थानीय तहमा बाहेक केन्द्र, प्रदेश र स्थानीय स्तरमा अब एमालेको सरकार छैन । उनीहरुले सजाय पाइसके । अब आ–आफ्नो स्थानबाट जनहितका जिम्मेवारी पुरा गर्ने अवसर हामीले पाएका छौँ । अब हामी एमालेलाई दोष दिएर बस्ने होइन, जनताको मनोभावना अनुरुप काम गर्ने हो ।’ थापाले भने । ‘हामीलाई अब छुट छैन । जनताले छुट दिने छैनन् । संकल्प गरौँ, पारदर्शीता, जवाफदेहीता र सुशासन कायम गरौँ । संविधानले नागरिकलाई दिएको अधिकार कटौती होइन, अझै बढाऔँ । स्थानीय जनताको हितमा काम गरौँ ।’ उनले थपे ।
उनले उम्मेदवार दोहोर्याउने र मतदाताको मनोभावना विपरितको उम्मेदवार पार्टीले अघि सार्दा नसोचेको ठाउँमा पराजय व्यहोर्नु परेको समेत बताए । ‘चाहे जुनसुकै राजनीतिक दलको होस्, अपवाद बाहेक दोहोरिएका उम्मेदवार पराजित भएका छन् । जनताले आक्रोश व्यक्त गरेका छन् ।’ उनले भने ।
उनले बागमती प्रदेशको राजधानी हेटौंडामा एमालेको विरासत ढालेर उदाएको गठबन्धनले जनभावना अनुरुपको काम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीना लामा, उपमेयर राजेश बानियाँ, कांग्रेसका जिल्लास्तरका नेताहरु र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

