बागमती प्रदेश नीति तथा कार्यक्रमः सबै बालबालिकासम्म शिक्षाको पहुँच बृद्धि गरिने
मकवानपुर । बागमती प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख शर्माले संसदमा प्रस्तुत गरेका हुन् ।
उनले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह संघको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने, दलित, अपाङ्ग, सिमान्तकृत एवम् विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गरिने बताए । कोही पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपारोस् भन्नका लागि यो योजना अघि सारिएको उनले बताए ।
त्यस्तै विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तिमा एक विद्यालयमा नमूना बाल बिकास केन्द्र संचालन गरिने उनले बताए ।
गुरु योजना स्वीकृत भएका आवासीय विद्यालयकाहरुको भौतिक विकास गर्नुको साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने उनले उल्लेख गरे ।
सामूदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरु स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताए । बागमती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने उनले बताए ।
