बागमती प्रदेशसभामा ५ वटा अध्यादेश पेश
मकवानपुर । बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश भएको हो ।
सरकार संचालनका क्रममा अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गरेका हुन् ।
त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरे ।
त्यस्तै प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश २०७८ संसदमा पेश गरिएको छ । सदनमा पेश भएका अध्यादेशशरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ । आजै बसेको दोस्रो बैठकमा अर्थमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको प्रि बजेटसमेत पेश गरेका थिए ।
