इन्द्र बानियाँले भने– स्थानीय निर्वाचनमा एमालेले दोबाटेसँग चुनावी गठबन्धन गर्यो
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा एमालेले स्थानीय तह निर्वाचनमा दोबाटेसँग पनि गठबन्धन गरेको आरोप लगाएका छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशन बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जो भेट्यो त्यहिसँग चुनावी तालमेल गरेको आरोप
लगाए ।
‘भन्नलाई पाँच दलसँग हामी एक्लै लड्यौँ भनेका छन् । तर, ९ वटा दल मिलेको सबैलाई थाहा छ । कतै कमल थापा, कतै राजेन्द्र लिङ्देनसँग मिलेको हामीलाई थाहा नै छ । गठबन्धन गर्ने पार्टी नै नपाएपछि दोबाटेसँग पनि एमालेले तालमेल गर्यो।’ उनले भने ।
उनले एमालेको बोली र व्यवहार ठिक नभएका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । संघ र प्रदेश सरकार ४ वर्ष सञ्चालन गर्दा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बानियाँको भनाई छ ।
‘गठबन्धनमा रहेका भर्खरै बनेको दलले पनि महानगरको नेतृत्व पाएको छ ।’, उनले भने, ‘धेरै बोल्ने, कुरो धेरै गर्ने, काम नगर्ने र जनताप्रति उत्तरदायी नभएका कारण जनताले एमालेलाई भोट नदिएका हु्न् ।’
बानियाँले गठबन्धन न्याय र सेवाको लागि भएको भन्दै गठबन्धन सरकारले आगामी आर्थिक वर्षको लागि जनताको हितमा नीति तथा कार्यक्रम ल्याउने बताए । ‘हामी राम्रो बजेट कार्यक्रम ल्याउँछौँ । जनताकै पक्षमा, जनताकै हितमा गठबन्धन सरकाले बजेट ल्याउँदैछ ।’ उनले भने ।
