एक महिनाभित्र पाठ्यपुस्तकको छपाई सक्न सरकारलाई निर्देशन

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १८:३३

काठमाडौं । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र सम्पन्न पर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो ।

छापिएको पुस्तक पनि तत्काल विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए । समितिले ३५ लाख बाँकी पुस्तक छपाइको काम छिटो सम्पन्न गर्न भनिएको हो ।

समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाइको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।