शैक्षिक क्षेत्रको विकासमा डटेर काम गर्छौँ: नगर प्रमुख विष्ट
मकवानपुर । थाहा नगरपालिकाको नवनिर्वाचित मेयर विष्णुबहादुर विष्टले शैक्षिक क्षेत्रको विकासमा डटेर काम गर्ने बताएका छन् । पालुङ बहुमुखी क्याम्पसले बुधबार आयोजना गरेको नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै मेयर विष्टले सो कुरा बताएका हुन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विष्टले पालुङ क्याम्पसको मुल समस्या नै आर्थिक भएकोले स्थानीय सरकारबाट प्रयास हुँदाहुँदै पनि प्रदेश र संघबाट प्रष्ट रुपमा सम्बोधन नभएकोले क्याम्पस आर्थिक रुपमा सबल हुन नसकेको बताए । उनले क्याम्पसबाट संख्यात्मक र गुणात्मक दुवै किसिमको जनशक्ति उत्पादन गर्नु अहिलेको चुनौति रहेको भन्दै क्याम्पसको विकासका लागि सबै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा थाहा–३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, क्याम्पस प्रमुख रामहरि अधिकारी, अभिभावक निरन्जन अधिकारी, क्याम्पस सञ्चालक समिति कोषाध्यक्ष बिमलकुमार ढकाल, सदस्य सुरेन्द्रमान प्रधान, प्राध्यापक हरिकृष्ण कार्की लगायतले क्याम्पसको शैक्षिक विकासका लागि थाहा नगरको ध्यानाकर्षण गर्दै उच्च शिक्षाको लागि नगरलाई शैक्षिक गन्तब्यको रुपमा विकास गर्न नगरपालिकाले विशेष नीति बनाई शिक्षा, स्वास्थ, पर्यटनको नारालाई सार्थक बनाउन आग्रह गरेका थिए ।
क्याम्पस संचालक समिति उपाध्यक्ष श्यामभक्त श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवनिर्वाचित उपमेयर भरत गोपाली, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, क्याम्पस संचालक समितिका कोषाध्यक्ष बिमल कुमार ढकाललगायतको सहभागिता रहेको थियो ।
