बालिका जबरजस्ती करणीको आरोपमा म्यादी प्रहरी पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ ७, शनिबार १९:११
सांकेतिक तस्बिर

झापा । १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले झापाको गौरीगञ्जबाट एक जना म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पोख्रेल पक्राउ परेका हुन् । बालिका बेहोस भएपछि उनी फरार थिए । फरार रहेका पोख्रेललाई स्थानीय तह चुनावका लागि झापामा म्यादी प्रहरीका लागि आवेदन दिई छनोट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला  प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको जनाइएको छ ।