निर्वाचन आयोगद्वारा केन्द्रीय अनुगमन टोली परिचालन

तु खबर संवाददाता
२०७९ बैशाख २५, आईतवार ०९:२८

मकवानपुर । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्न अनुगमन टोली परिचालन गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्ने गरी टोली परिचालन भएको उनको भनाई छ । उनका अनुसार, सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो ।

विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका हुन् । अनुगमन परिचालन टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ ।