मकवानपुरका मधु अधिकारीले त्यागे राप्रपा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका पूराना नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टी स्थापना कालदेखि ३२ वर्ष राप्रपामा लागिपरेका नेता अधिकारीले पार्टीमा अपमानित,अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन् ।
राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिती सदस्य, पार्टी बागमती प्रदेशको उपाध्यक्षको भूमिकामा रहेका नेता अधिकारीले पार्टी मकवानपुर जिल्ला सभापतिको भूमिका निर्वाह गरेका थिए । निर्वाचित वडाध्यक्षदेखि हेटौंडा नगरपालिकाको मेयरसम्म भई आफ्नो दायित्व निर्वाह गरेका अधिकारी पछिल्लो समय राप्रपालाई एकताबद्घ बनाउने अभियानमा समेत सक्रिय रहेका थिए ।
अधिकारीले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनवरत रुपमा रगत पसिना बगाइरहेको, सकेको बल, बुद्धि, श्रम, सीप लगाउँदै आफ्नो क्षमता अनुसार सकेको आर्थिक लगानी पनि गरेको, सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढेको भएपनि पार्टीमा मूल्याङ्कन नभएको गुनासो गर्दै पार्टी छाडेका हुन् ।
