पार्टी कार्यालयबाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न निर्देशन

तु खबर संवाददाता
२०७९ बैशाख १९, सोमबार १६:४०

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न निर्देशन दिएको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको निर्देशन दिएको हो ।

आसान्न स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गत चैत्र २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको भन्दै सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको छ ।

आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ । यही राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायहरुले आचारसंहिता नमार्नेको खण्डमा एक लाख रुपैयाँ भन्दा बढी जरिवाना हुने आयोगले जनाएको छ ।