निर्वाचन आयोग : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै

तु खबर संवाददाता
२०७९ बैशाख १७, शनिबार ०९:०२

काठमाडौं । निर्वाचन आयोगले आज (शनिबार) उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । आसन्न स्थानीय तह चुनावको लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने उनको भनाइ छ । यसअघि बैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेर बैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय आयोगले दिएको थियो । यस्तै बैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो । यस्तै शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो ।