बकैया गाउँपालिकाः माओवादी केन्द्रकी कृपाले लिइन् उम्मेदवारी फिर्ता

तु खबर संवाददाता
२०७९ बैशाख १६, शुक्रबार १५:४५

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा) ले उम्मेदवारी फिर्ता गरेकी छन् । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा मनोनयन दर्ता गराएकी उनले शुक्रबार उम्मेदवारी फिर्ता गरेकी हुन् ।

उनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका आधिकारीक उम्मेदवार काँग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट उम्मेदवार फिर्ता गरेकी हुन् । गत बैशाख १२ गते उम्मेदवारी दर्ता गराएकी उनले निर्वाचन अधिकृतको कार्यालय बकैया हात्तिसुडे पुगेर उम्मेदवारी फिर्ता गरेकी हुन् ।

उनले गठबन्धनको वास्तविक मर्म र पार्टी केन्द्रको निर्देशन अुनसार आफूले उम्मेदवारी फिर्ता लिएको बताइन् । गठबन्धनको सहमति अनुसार, अध्यक्षमा कांग्रेसका लामिछाने र उपाध्यक्षमा माओवादी केनद्रका भक्तबहादुर खत्री उम्मेदवार हुन् ।

यसअघि बकैयाको उपाध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवार बनेकी छायाँ अधिकारीको उम्मेदवार खारेज भइसकेको छ । अधिकारीको कृषि गणना कार्यक्रममा गणक पदमा कार्यरत रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको थियो ।