सबै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्न आयोगको निर्देशन

तु खबर संवाददाता
२०७९ बैशाख १६, शुक्रबार १५:१६

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको लागि सबै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । आयोगले मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले देशभरका ७५३ वटै स्थानीय तहमा सीसी क्यामरा राख्न निर्देशन दिएको हो ।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैगरी यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ । आयोगले रङ्गिन र श्यामवेत दुबै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले बताए ।

यही बैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता भएकामा आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बैशाख १७ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यसूची छ ।