युवतीलाई छुरा प्रहार गर्ने हेटौंडाका युवक पक्राउ
मकवानपुर । युवतीलाई छुरा प्रहार गरी फरार रहेका हेटौंडाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सिर्जन यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत चैत्र ११ गते हेटौंडा–८ कमानेस्थित स्मृति टोलमा बस्ने २४ वर्षीया अनिशा राईमाथि छुरा प्रहार गरी फरार रहेका यादव २७ दिनपछि बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, छुरा प्रहार गरी फरार रहेका यादव आफैं जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका हुन् । प्रहरीले खोजी गरिरहेको अवस्थामै यादव प्रहरीको सम्पर्कमा आएका हुन् । छुरा प्रहारबाट युवतीको घाँटीको पछाडि भागमा चोट लागेको थियो । राईको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरेपछि केही दिनअघि डिस्चार्ज गरिएको छ । अनिशा उपचारपछि हेटौंडास्थित घरमै छिन् ।
मकवानपुर बहुमुखी क्याम्पस एम एड तेस्रो सेमेस्टरमा अध्ययनरत राई मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत रहेकी थिइन् । अभियुक्त यादवलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट प्रहरीले बुधबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
