श्रीलंकामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाउँदा एक जनाको मृत्यु भएको हो ।
प्रहरीले चलाएको गोलीलागेर ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता निहाल तल्डुवाले बीबीसीसँग भनेका छन् । उक्त घटनापछि रांबुक्काना शहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ ।
श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश छ । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा मंगलबार पनि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् । मंगलबार रांबुक्काना, हिंगुराकगोडा, बड्डेगामा, डिगाना, गंपोला, रत्नापुर र तेल्देनिया लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ ।
