उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो। उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सम्बन्ध मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित रही सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर विस्तार हुँदै आएको उल्लेख गरे।
उनले दुई देशबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध, जनस्तरबीचको आपसी सम्बन्ध तथा बुद्ध धर्मसँगको ऐतिहासिक सम्बन्धले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए। उनले भने, “लुम्बिनीलाई ‘विश्व शान्तिको मुहान’का रूपमा विकास गर्न श्रीलंका सरकारले पुर्याएको योगदानप्रति नेपालले प्रशंसा गर्दछ।”
उपराष्ट्रपति यादवले श्रीलंकाली तीर्थालुहरूका लागि लुम्बिनी पवित्र स्थल रहेको र काठमाडौं–कोलम्बो सिधा उडानले भ्रमणलाई सहज बनाएको उल्लेख गरे। हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् कोलम्बो–भैरहवा सिधा उडानले श्रीलंकाली पर्यटकलाई लुम्बिनी भ्रमणमा थप प्रोत्साहन दिने विश्वास समेत व्यक्त गरे।
नेपालले श्रीलंकाली पर्यटकलाई निःशुल्क पर्यटक भिसा सुविधा दिँदै आएको र श्रीलंका सरकारले पनि नेपाली नागरिकलाई निःशुल्क पर्यटक भिसा सुविधा प्रदान गर्ने निर्णय गरेकोमा उपराष्ट्रपति यादवले खुशी व्यक्त गरे। उनले यसले पर्यटक प्रवाह बढाउने, जनस्तरबीचको सम्बन्धलाई बलियो बनाउने तथा मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
नेपालले श्रीलंकासँगको सम्बन्धलाई सधैं उच्च महत्व दिने उल्लेख गर्दै उपराष्ट्रपति यादव भने, “करिब सात दशकदेखि रहँदै आएको सम्बन्ध पारस्परिक सम्मान, मित्रता र साझा संस्कृतिमा आधारित रही आजका दिनमा अझ प्रगाढ बनेको र आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गर्दछु।”
श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले दुई राष्ट्रबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल र श्रीलंका व्यापार, पर्यटन लगायतका क्षेत्रमा थप सहकार्य गर्न सक्ने बताइन्। उनले पर्यटनको विकासका लागि ‘टूरिज्म स्कूल’ को स्थापना गरी दुई देशका विद्यार्थीलाई ‘इन्टर्नसिप’ मा पठाउन सकिने सम्भावनाबारे जानकारी दिइन्।
