सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्ता एवम् कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको उनले बताए । आइतबार र सोमबार बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
कांग्रेसले ११ उपमहानगरको प्रमुख लिएर उपप्रमुख माओवादी, एकीकृत समाजवादी र जसपालाई दिने प्रस्ताव राखेको छ । तर, माओवादी केन्द्रले घोराही र जितपुर सिमरा, समाजवादीले हेटौंडा, तुलसीपुर र इटहरीमा दाबी गरेको छ । यस्तै, जसपाले जनकपुर, नेपालगन्ज र कलैया उपमहानगरपालिका प्रमुख प्रस्ताव गरेको छ ।
